काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बाराको कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी तथा ओखलढुंगाको मानेभञ्ज्याङ–५ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६ बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनीहरूले भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर लागुऔषध बिक्री–वितरण गरिरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको एउटा हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषध, नगद, सवारीसाधन र अन्य सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।