काठमाडौं — विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षभित्र फरक–फरक धारणा देखिन थालेका छन् । देउवा पक्षका केही वरिष्ठ नेताहरू आयोगको निर्णयविरुद्ध अदालत जाने तयारीमा छन् भने तेस्रो तहका नेता तथा कार्यकर्ताहरू भने रुख र चारतारे झन्डाकै पक्षमा उभिँदै मूल प्रवाहमा फर्किन चाहिरहेका छन् ।
यसैबीच, बानेश्वरमा नयाँ सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वसभापति देउवालाई अभिभावकीय भूमिकामा राख्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकपछि जारी वक्तव्यमा देउवाको लामो योगदानको सम्मान गर्दै आगामी दिनमा उहाँलगायत अग्रज नेताहरूको मार्गदर्शन र साथ रहने विश्वास व्यक्त गरिएको छ ।
देउवानिकट केही पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यले चुनाव नलड्ने र नयाँ कार्यसमितिमा पनि नबस्ने मनस्थिति बनाएका छन् । तर, त्यस तलका पुस्ताका नेताहरू भने पार्टी चिन्ह र झन्डा जहाँ छ, त्यही नै कांग्रेस भएको भन्दै नयाँ नेतृत्वसँग सहकार्य गर्न इच्छुक देखिएका छन् ।
शनिबार सानेपामा बसेको देउवा पक्षीय बैठकले निर्वाचन आयोगको निर्णय संविधान, कानुन र पार्टी विधानविपरीत भएको ठहर गर्दै त्यसविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको छ । आइतबार अदालतमा रिट दायर गर्ने तयारी गरिएको छ भने अदालतको आदेशपछि थप निर्णय लिने उनीहरूको योजना छ ।
यता आयोगको मान्यता पाएपछि बसेको कांग्रेसको पहिलो बैठकले टोलदेखि केन्द्रसम्मका सबै तहका समितिलाई एकताबद्ध भएर निर्वाचनमा लाग्न निर्देशन दिएको छ । पार्टीभित्र पुरानो संस्थापन, शेखर कोइराला पक्ष तथा भ्रातृसंस्थासँग संवाद बढाउने प्रयास पनि जारी छ ।
केन्द्रीय सदस्यहरू सुजाता कोइराला, रामहरि खतिवडा, चन्द्र भण्डारी, सुनील शर्मा र दिनेश कोइरालालगायत नेताहरूले आयोगको निर्णय स्विकारेर अघि बढ्न आह्वान गरेका छन् । उनीहरूले परिवर्तनलाई स्विकार्दै एकताबद्ध भएर चुनावी प्रतिस्पर्धामा जानुपर्ने धारणा राखेका छन् ।
सभापति थापाको नेतृत्वमा कांग्रेसले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवार खडा गर्ने तयारी अघि बढाएको छ । टिकट वितरणका लागि संसदीय बोर्डले काम थालेको छ भने देउवा पक्षलाई समेट्ने प्रयास पनि जारी रहेको पार्टीले जनाएको छ । पार्टी एकता र साझा स्वामित्वका लागि निर्णयमा हतार नगर्ने नेतृत्वको रणनीति देखिएको छ ।