अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ९ प्रतिशत घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। पछिल्लो कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.५० अमेरिकी डलर पुगेको छ। अमेरिकामा कारोबार हुने कच्चा तेलको मूल्य पनि करिब ९ प्रतिशतले घटेर प्रति ब्यारेल ८८.६० अमेरिकी डलरमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत गरेपछि तेलको अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको बताइएको छ। उनले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति Vladimir Putin सँग कुराकानी भएको उल्लेख गर्दै युद्ध छिट्टै समाप्त हुने अपेक्षा व्यक्त गरेका थिए। तर पछि युद्ध तत्काल अन्त्य नहुने भनाइ पनि सार्वजनिक भएको थियो।

यसबीच ट्रम्पले इरानले Strait of Hormuz मा तेल ढुवानी अवरुद्ध गरे अमेरिकाले कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् इरानले यस्तो कदम चाले अमेरिकाले अहिलेसम्म गरेको आक्रमणभन्दा धेरै शक्तिशाली प्रतिक्रिया दिने बताएका हुन्।

विश्वभर ढुवानी हुने कुल तेलमध्ये करिब २० प्रतिशत यही समुद्री मार्ग हुँदै जाने भएकाले उक्त क्षेत्रमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतार–चढाव देखिँदै आएको छ। इजरायल–इरान द्वन्द्वका कारण समुद्री मार्गको आवागमन प्रभावित हुँदा तेल बजारमा अस्थिरता बढेको बताइएको छ।

प्रतिक्रिया