नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउन भ्रमण उपलब्धिमूलक : खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी असार १ गते बेइजिङ प्रस्थान गरेका थिए।

स्वदेश फर्किएपछि जारी प्रेस नोटमार्फत परराष्ट्रमन्त्री खनालले भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्। भ्रमणका क्रममा चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता भएको र नेपाल–चीन सम्बन्धका विविध पक्षमा गहन छलफल भएको उनले जानकारी दिए।

भेटवार्ताका क्रममा दुवै पक्षले आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सहमति व्यक्त गरेका छन्। नेपालले ‘एक चीन’ नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेको छ। त्यसैगरी चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो समर्थन पुनः व्यक्त गरेको छ।

दुवै देशबीच पूर्वाधार विकास, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको छ।

भ्रमणका क्रममा विगतमा भएका द्विपक्षीय सहमति तथा परियोजनाहरूको शीघ्र कार्यान्वयनमा जोड दिइएको छ। साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

परराष्ट्रमन्त्री खनालले चीनको कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङ तथा चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिङसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा द्विपक्षीय सम्बन्ध, राजनीतिक सम्पर्क तथा सहयोग विस्तारका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।

भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित ‘इन्भेस्टमेन्ट कन्फरेन्स’ मा सहभागी हुँदै मन्त्री खनालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका थिए। उनले नेपालमा लगानी तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

त्यसैगरी उनले चीनमा रहेका नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए। साथै नेपाली दूतावासको कार्यसम्पादनबारे जानकारी लिँदै आर्थिक तथा विकास कूटनीतिलाई प्रभावकारी बनाउन र चीनमा रहेका नेपालीको हित संरक्षणमा सक्रिय हुन दूतावासका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भ्रमणका क्रममा मन्त्री खनालले नेपालका राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको बेइजिङस्थित ऐतिहासिक श्वेत स्तूप (डागोबा) को अवलोकन गरेका थिए। उनले उक्त सम्पदालाई नेपाल–चीन सांस्कृतिक सम्बन्धको महत्वपूर्ण प्रतीकका रूपमा उल्लेख गरेका छन्।

यस्तै, चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको ‘इन्स्टिच्युट अफ टिबेटन प्लेटो रिसर्च’ तथा झोङगुआनछुन साइन्स पार्कको भ्रमण गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तारबारे छलफल गरेका थिए।

परराष्ट्रमन्त्री खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा विकास कूटनीतिलाई अगाडि बढाउने सरकारको उद्देश्य पूरा गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय