काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज (शुक्रबार) काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेला तीन दिनसम्म चल्नेछ। भेलाको बन्दसत्र साउन ३० र ३१ गते आयोजना गरिनेछ। बन्दसत्रमा विभिन्न विषयमा छलफल गर्दै पार्टीका आगामी नीति तथा कार्यक्रम तय गरिने बताइएको छ।
भेलामा करिब ५ हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजकको अनुमान छ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी सिंगापुरमा उपचार गराएर बिहीबार स्वदेश फर्किएका देउवालाई इतर समूहका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरेका थिए। विमानस्थलबाट उनलाई सोझै चुनदेवीस्थित कार्यालय लगिएको थियो।
त्यहाँ देउवाको कार्यकक्षको बाहिर तथा चेम्बरभित्र उनको नामअघि ‘सभापति’ लेखिएको बोर्ड राखिएको छ। इतर समूहले काठमाडौंमा आयोजना गर्न लागेको तीन दिने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा उक्त बोर्ड राखिएको हो।