पितृ तर्पण र कुश पूजासहित कुशे औंसी पर्व मनाइँदै

काठमाडौं । आज हिन्दू धर्मावलम्बीहरूले पिताप्रति श्रद्धा र कृतज्ञता प्रकट गर्ने विशेष अवसर ‘कुशे औंसी’ मनाइरहेका छन्। वर्षभरिका १२ औंसीमध्ये यस दिनलाई विशेष मानिन्छ, किनभने आजकै दिन शास्त्रीय विधिअनुसार कुश छानेर घर–घरमा भित्र्याउने परम्परा रहेको छ।

यस दिनलाई ‘बुबाको मुख हेर्ने दिन’ तथा ‘पितृ दिवस’ पनि भनिन्छ। बिहानैदेखि सन्तानहरूले आफ्ना बाबुलाई फलफूल, मिठाई, परिकार, लुगा र दक्षिणा अर्पण गर्दै आशिर्वाद लिने चलन छ। टाढाटाढाबाट समेत सन्तानहरू घर फर्की बाबुसँग भेट गर्ने र आदर प्रकट गर्ने परम्परा रहेको छ।

दिवङ्गत पितालाई सम्झनेहरूले भने गोकर्ण, बागमती, विष्णुमती, त्रिशूली लगायतका पवित्र तीर्थस्थलमा गई तर्पण, श्राद्ध र पिण्डदान गरी आत्माको चिरशान्तिको कामना गर्छन्। गोकर्णधाममा आज विशेष मेला लाग्ने परम्परा छ।

वैदिक सनातन परम्परा अनुसार कुशलाई पवित्रताको प्रतीक मानिन्छ। आजको दिन पूजापाठ गरेर भित्र्याइएको कुश वर्षभरि देवकार्य, श्राद्ध, यज्ञ र धार्मिक अनुष्ठानमा प्रयोग गरिन्छ। ‘पितृदेवो भवः’ अर्थात् पितालाई देवताजस्तै मान्नुपर्ने धार्मिक वचनले यस दिनको महत्व अझ बढाएको छ। विश्वास छ—जीवित पितालाई आदरपूर्वक भोजन कराएमा र दिवङ्गत पिताका नाममा तर्पण तथा दान गरेमा जीवनमा सुख–समृद्धि प्राप्त हुन्छ।

प्रतिक्रिया