राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय सुधार्न र राजस्व चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले नयाँ आर्थिक वर्षको राजस्व संकलन लक्ष्यलाई ‘मिसन मोड’मा अघि बढाउन भन्सार तथा राजस्व प्रशासनका अधिकारीलाई निर्देशन दिएका हुन्।

अर्थमन्त्री वाग्लेले राजस्व संकलनको लक्ष्य, समयसीमा र उद्देश्य स्पष्ट रहेकाले कर प्रशासनले अर्जुनदृष्टिका साथ काम गर्नुपर्ने बताए। उनले करदातालाई अनावश्यक दबाब दिएर होइन, प्रोत्साहन र विश्वासको वातावरण सिर्जना गर्दै करको दायरामा ल्याउनुपर्नेमा जोड दिए।

उनले कर संकलनको लक्ष्य वैज्ञानिक र यथार्थपरक बनाउन आग्रह गर्दै कर प्रशासकहरूलाई परम्परागत कार्यशैलीबाट बाहिर निस्केर परिणाममुखी ढंगले काम गर्न निर्देशन दिए। इमानदारी र मेहनतका साथ काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने र गलत कार्यमा संलग्न हुनेलाई कारबाही गरिने उनले स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले सरकारको राजस्व लक्ष्य हासिल गर्न आवश्यक स्रोत र साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै करदातामाझ जनचेतना अभिवृद्धि, कर छुट योजनाको प्रभावकारी कार्यान्वयन तथा करदाता प्रोत्साहन कार्यक्रमलाई सशक्त रूपमा अघि बढाउन निर्देशन दिए।

राजस्व चुहावट नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिँदै उनले भन्सार विभागलाई तीन महिनाभित्र देशका प्रमुख १४ वटा भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर जडान गर्न निर्देशन दिए। यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानरहरूलाई पनि तत्काल मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन उनले आग्रह गरे।

त्यस्तै, भन्सार र कर चुहावट भइरहेका क्षेत्रको सूक्ष्म अनुगमन गर्न, व्यवसायीलाई तर्साएर होइन प्रणालीबारे जानकारी गराउँदै करको दायरामा ल्याउन उनले निर्देशन दिए।

बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायले आर्थिक गतिविधि र राजस्व संकलनबीच देखिएको असन्तुलनको कारण पहिचान गरी सुधारका लागि आवश्यक कदम चाल्न मातहतका अधिकारीलाई निर्देशन दिएका थिए। कार्यक्रममा राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, भन्सार विभागका महानिर्देशक यमलाल भूसाल तथा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले राजस्व संकलनको अवस्था, चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुति दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय