काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकाल्दै एक खेल बाँकी रहँदै सिरिज आफ्नो पक्षमा पारेको छ ।
शनिबार पहिलो खेलमा जित निकालेको नेपालले सोमबार फेरि उत्कृष्ट प्रदर्शन गर्दै टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई हरायो र पहिलोपटक सिरिज नै जित्ने उपलब्धि हासिल गर्यो ।
नेपालले सोमबारको खेलमा ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा संतुलित र प्रभावशाली खेल प्रस्तुत गर्यो । विशेषगरी ऊर्जाशील फिल्डिङले विपक्षीलाई दबाबमा राख्नुका साथै दर्शकलाई रोमाञ्चित बनायो ।
सिरिज अघि कप्तान रोहित पौडेलले वेस्ट इन्डिजविरुद्ध जित्ने आत्मविश्वास व्यक्त गरेका थिए । लगातार दुई जितसँगै उनले आफ्नो प्रतिबद्धता मैदानमै पुष्टि गरेका छन् ।