नेपाल धितोपत्र बोर्डले २०८० असोज ८ गते स्वीकृत गरेको एपिआई कार्यसंचालन निर्देशिका २०८० अनुसार, अब मेरोशेयरमार्फत आईपीओ, एफपीओ वा हकप्रदमा आवेदन दिने बित्तिकै आवेदन भेरिफाई भई पैसा ब्लक हुने प्रणाली कार्यान्वयनमा आएको छ। हाल सिटिजन्स बैंकले मात्र यो निर्देशिकाको व्यवस्था कार्यान्वयन गरेको छ। यस बैंकमा खाता भएका ग्राहकले मेरोशेयरमार्फत आवेदन दिँदा, आवेदन दिने बित्तिकै सिस्टमले आवेदन भेरिफाई गरी पैसा ब्लक गर्ने सुविधा उपलब्ध हुनेछ।
यो प्रणाली कार्यान्वयन भएसँगै ग्राहकले आवेदन दिएका बखत नै खातामा पर्याप्त मौज्दात नभए जानकारी प्राप्त हुने भएकाले आवेदन रिजेक्ट हुने सम्भावना समाप्त हुनेछ। बैंकका लागि पनि यो प्रणाली उपयोगी मानिएको छ, किनभने यसले आवेदनको म्यानुअल जाँच प्रक्रियालाई स्वचालित बनाउँछ र समय तथा श्रमको बचत गर्दछ।
सिडीएसका अनुसार, हालसम्म सिटिजन्स बैंकले मात्र यो प्रणालीको लागि सिडीएससी एण्ड क्लियरिङसँग सम्झौता गरेको छ। अन्य बैंक तथा वित्तीय संस्थाले पनि यो सेवा प्रदान गर्न चाहेमा सिडीएसमा आवेदन दिएर एपीआइ सुविधा प्राप्त गर्न सक्नेछन्। एपिआई लागू गरेपछि बैंकले आफ्ना ग्राहकलाई आवेदन दिने बित्तिकै भेरिफाई हुने र पैसा ब्लक हुने सुविधा दिन सक्छन्।
यद्यपि, यो निर्देशिकाको व्यवस्था हाल अनिवार्य नगरिएकाले सीमित बैंक तथा वित्तीय संस्थाले मात्र यो सेवा प्रदान गरिरहेका छन्। एपिआई लिन थप शुल्क लाग्ने भएकाले धेरै बैंकहरू यो प्रणाली लागू गर्न इच्छुक देखिएका छैनन्। प्रणाली कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई थप सुविधासहित सेवा प्रदान गर्न सक्षम हुने विश्वास गरिएको छ।