काठमाडाैं -प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच चालु आर्थिक वर्षका प्रमुख उपलब्धिका लागि कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीद्वय तथा मन्त्रीहरुले चालु आर्थिक वर्षमा हासिल हुने मुख्य उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सो सम्झौतामा हस्ताक्षर गरिएको हो।
उक्त सम्झौता प्रधानमन्त्री ओली र नेपाल सरकारका मुख्यसचिवबीच पनि भएको छ, जसले तोकिएको समयमा पूर्वाधार विकास र सेवा प्रवाहलाई सुदृढ गर्ने उद्देश्य राखेको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न यो सम्झौता गरिएको हो।
अनुसूचीसहित विभिन्न खण्डमा विभाजित कार्यसम्पादन सम्झौतामा सरकार गठनको पहिलो सय दिन (२०८१ कात्तिक ६ गतेसम्म) र दोस्रो सय दिन (२०८१ माघ १७ गतेसम्म) सम्म गर्नुपर्ने प्रमुख काम र हासिल हुने उपलब्धिहरु समावेश छन्। आर्थिक वर्ष २०८१-०८२ को बाँकी अवधिमा गर्नुपर्ने काम र उपलब्धिका विषय पनि यसमा समावेश छन्।
प्रधानमन्त्रीसँग सम्झौता गरेका मन्त्रीहरुले अब आफ्ना सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नेछन्। यसरी लक्षित उपलब्धि समयमा हासिल गर्न र सेवा प्रवाहमा चुस्तता ल्याउन प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा यो प्रक्रिया सुरु गरिएको थियो।
नेपाल बाहिर रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, वन तथा वातावरणमन्त्री, र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको कार्यसम्पादन सम्झौता पछि हुनेछ।