काठमाडाैं - आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक झिनो अंकले सुधार भए पनि कारोबार मात्रा भने ३ हजार विन्दु पुगेपछि सबैभन्दा कम देखिएको छ। दिनभरमा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ, जुन ३ हजार विन्दु पार गरेपछिको सबैभन्दा न्यून कारोबार हो।
प्रि-ओपन सेसनमा नेप्से साढे २४ अंकले वृद्धि भएको थियो। शेयर बजार खुलेको ५ मिनेट भित्र नै नेप्से उच्चतम २६४३ विन्दुमा पुगेको भए पनि यो स्तर लामो समय टिक्न सकेन। बजार खुलेको १२ मिनेट भित्र नेप्से ओरालो लाग्दै २५७० विन्दुसम्म आएको थियो। बजारले पटक-पटक माथि उठ्न प्रयास गरे पनि विक्रीकर्ताहरूको हाबीले यो सम्भव भएन।
तर अन्तिम १० मिनेटमा खरिदकर्ताको चाप बढेपछि बजारले सुधार लिँदै ११ अंकले वृद्धि गर्यो। आइतबार १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर कारोबार भएको थियो। १३८ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ९४ कम्पनीको शेयर घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो।
३२३ कम्पनीको कारोबारमा ७२ हजार ९५७ पटक शेयर किनबेच भएको थियो। तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। १३ मध्ये ८ समूहको शेयर मूल्य वृद्धि भएको देखियो। वाणिज्य बैंक समूह १.०१ प्रतिशतले वृद्धि भई १४७७.३३ विन्दुमा पुगेको छ। होटल तथा पर्यटन समूह भने ०.६१ प्रतिशतले घटेर ३०१९.६५ विन्दुमा पुगेको छ।
विकास बैंक, हाइड्रोपावर, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य र ट्रेडिङ समूहको शेयरमा पनि वृद्धि देखिएको छ। तर, फाइनान्स, उत्पादन तथा प्रशोधन, लघुवित्त, र म्युचुअल फण्ड समूहको शेयरमा गिरावट देखियो।