काठमाडौं–बैंकहरुले आफ्ना शेयरधनीलाई बोनस वितरण सुरु गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्नका लागि बैंकहरुले साधारण सभा आयोजना गरेका छन् । आधा दर्जन बढी बैंकले लाभांश वितरण सुरु गरेका छन् ।
सानिमा बैंकले कात्तिक १४ गते, कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले हिजो अर्थात कात्तिक १६ गते साधारणसभा आयोजना गरेर लाभांश वितरण गर्ने प्रक्रियामा गइसकेका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनले गत आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, सानिमा बैंकले आफ्ना शेयरधनीलाई १७ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । कात्तिक १४ गते बैंकको १७ औं साधारणसभाले हालको चुक्ता पुँजीको १७ प्रतिशतका दरले हुने एक अर्ब ६४ करोड ५८ लाख ५८ हजार २ सय ४४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने संचालक समितको प्रस्ताव स्वीकृत गरेको हो ।
कुमारी बैंक पनि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रक्रिया अगाडि बढेको हो । कुमारी बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साँग्रिला विकास बैंकले पनि साधारणसभा गरिसकेको छ । बैंकको कार्तिक १६ गते वार्षिक साधारणसभा भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यस्तै, साधना, डिप्रोक्स, अभियान लघुवित्तले पनि साधारणसभा गरिसकेका छन् । ७ वटा बैंक तथा वित्तीय संस्थाले तिहार भित्रै सेयरधनीलाई लाभांश वितरण गरिसक्नेछन् ।
यस्तै, माछापुच्छ«े बैंक, नेपाल बंगलादेश बैंकले पनि साधारणसभाको आव्हान गरिसकेका छन् । माछापुच्छ्रे बैंकले कात्तिक २६ गते साधारणसभा बोलाएको छ । नेपाल बैगलादेशले पनि मंसिर २ गतेका लागि साधारणसभा डाकेको छ । बैंकको साधारणसभाले साढे १५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ । बैंकले १२ प्रतिशत बोन सेयर र बाँकी साढे ३ प्रतिशत नगद लाभांश दिने कम्पनीले घोषणा गरेको छ ।
यस्तै, विकास बैंकहरुमा कामना सेवा विकास बैंक र साँग्रिला विकास बैंकले पनि साधारणसभाको आव्हान गरिसकेको छ । बैंकले कात्तिक २३ गते साधारणसभा बोलाएको छ । बैंक्ले गत आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।