हमासद्वारा विपिनसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक

काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै आफ्नो नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीसहित ४८ जना बन्धकको सामूहिक तस्बिर शनिबार सार्वजनिक गरेको छ। तर यसलाई इजरायलले ‘प्रपोगान्डा’ को रूपमा लिएको छ।

दोहास्थित अलजजिरा अनलाइनका अनुसार हमासको ‘कसाम ब्रिगेड्स’ ले सार्वजनिक गरेको संकलित तस्बिरमा जीवित र मृत सबै बन्धकको अनुहार देखाइएको छ। प्रत्येकलाई १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका कप्तान रोन अराडको नामसहित फरक–फरक नम्बर दिइएको छ। तस्बिरमा जीवित र मृत छुट्याइएको छैन।

विपिनसहित ४८ जना २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा रहेका छन्। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल पुगेका विपिनलाई अलुमिम किबुजबाट बन्धक बनाइएको थियो। सो आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए।

हमासले त्यतिबेला २५१ जनालाई बन्धक बनाएको थियो। पछिल्ला दुई वर्षमा युद्धविरामका क्रममा केही बन्धक र प्यालेस्टिनी कैदी साटिएका थिए भने ८ जनालाई इजरायली सेनाले जीवितै उद्धार गरेको थियो। हालसम्म ४८ जना, जसमा विपिन पनि छन्, अझै हमासकै नियन्त्रणमा छन्।

इजरायलले गाजा क्षेत्रमा सैन्य आक्रमण तीव्र पारेको बेला हमासले ‘बन्धकको जीवन जोखिममा रहेको’ भन्दै तस्बिर सार्वजनिक गरेको हो। उसले बन्धकहरूलाई विभिन्न स्थानमा छरेर राखिएको र इजरायली बम आक्रमणका कारण केहीको मृत्यु भइसकेको दाबी गरेको छ।

इजरायलले भने यसलाई ‘मनोवैज्ञानिक युद्ध’ भनेको छ। नेपालका लागि इजरायली राजदूत शमुलिक ऐर बासले भने, ‘हमासले राम्रैसँग माइन्ड–वार खेलेको छ। उनीहरूले भनेजस्तो सबै बन्धकको स्थान अज्ञात छैन।’

विपिनको परिवार निरन्तर दबाब दिइरहेको छ। अघिल्लो महिना आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेर विपिनको सकुशल रिहाइको माग गरेका थिए। ‘होस्टेज स्क्वायर’ मा हजारौँको उपस्थितिमा विपिनकी बहिनी पुष्पाले रुँदै भनिन्, ‘दुई वर्षभन्दा बढी समयदेखि मेरो दाजु अँध्यारो नरकजस्तो कोठरीमा बाँचिरहेको छ, हामी उहाँलाई हरेक दिन सम्झिरहेका छौँ।’

इजरायली नागरिकहरूले पनि आफ्ना बन्धकलाई सकुशल घर फर्काउन सरकारलाई दबाब दिँदै युद्धको अन्त्य र विस्तृत सम्झौताको माग गरिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय