काठमाडौं–नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताहरु अब अमेरिकी बजारमा पाइने भएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो विक्री–वितरण सुरू गर्ने भएको छ ।
सोमबार विशेष कार्यक्रमको आयोजना गरी अमरिकाको न्यूयोर्कमा गोल्डस्टारको बिक्री वितरण उद्घाटन गरिएको छ । कार्यक्रममाकम्पनीका अध्यक्ष आमिर प्रताप ज.ब.राणाले गोल्डस्टार जुत्ता संयुक्त राज्यभरका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे । नेपाली नागरिकले धेरै टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रूपमालिने गरेको गोल्डस्टार अमेरिकी बजारमा समेत ल्याउन पाउँदा खुसी लागेको उनले बताए । गोल्डस्टारको प्रमुख मोडल ०३२ भेरियन्टले नेपालमा ठूलो चर्चा पाएको थियो ।
त्यसपछि पनि गोल्डस्टारले समयअनुकुल आकर्षक डिजाइनहरु बजारमा पठाउने गरेको छ । ‘हाम्रो अनुभवको तीन दशकको समयमा दुई महाद्वीपहरू पार गरी हामी अब संयुक्त राज्य अमेरिकामा आइपुगेका छौं, यो सबैभन्दा गर्वको कुरा हो र हामी अमेरिकामा पनि आकर्षक जुत्ताहरू ल्याउने कुरामा प्रतिबद्ध लागिपर्नेछौं’ अध्यक्ष राणाले भने । कार्यक्रममा उपस्थित अमेरिकाका लागि नेपालका कार्यवाहक महावाणिज्य दूत बिष्णुप्रसाद गौतम गोल्डस्टारले अमेरिकामा व्यापार विस्तरा गर्नु सबै उद्यमीहरुका लागि खुसीको कुरा भएको बताए । नेपाली उत्पादनहरु विश्वव्यापी उचाईमा पुर्याउन गोल्डस्टारले महत्वपूर्ण भूमिकामा खेल्नेमा आफू विस्वस्त रहेको उनले बताए ।
किरण सुज म्यानुफ्याक्चरर्सकी कार्यकारी निर्देशक विदुषी राणाले मेहनतको फलस्वरुप गोल्डस्टारले सात समुद्र पार गरेको भन्दै यसमा आफूलाई निकै गर्व लागेको बताइन् । मेरील्याण्ड हाउस अफ डेलीगेट्सका माननीय सदस्य श्री ह्यारी भण्डारीले गोल्डस्टार टोलीलाई अमेरिकी बजारमा प्रवेशका लागि बधाई र सफलताको शुभकामना व्यक्त गर्न एक विशेष भिडियो सन्देश प्रस्तुत गरेका थिए ।
गोल्डस्टारको जुत्ता स्वर्गीय नुर प्रताप ज.ब. राणाले शुरु गरेका थिए । अधिकांश नेपाली घरहरूमा सस्तो तर टिकाउ जुत्ता ल्याउने सपना हो । यही परिकल्पनालाई साकार बनाउन किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको निर्माण गर्न थालेको थियो । यी सुलभ मूल्यका जुत्ताहरू तुरुन्तै नेपालमा सबैभन्दा लोकप्रिय जुत्ता बन्न पुगेका हुन् ।
विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरू गरेको छ । जसको उदाहरण गोल्डस्टारको जी–१० सिरिज, गोल्डस्टारको आधुनिक स्नीकर शैलीको जुत्ताबाट पेश गरियो र सबैका लागी नयाँ जुत्ताहरू हुन् । गोल्डस्टार जुत्ता भारतमा समेत प्रख्यात छ । अमेरिका अघि गोल्डस्टार जुत्ता अष्ट्रेलिया, जापान र कतारमा समेत विस्तार भइसकेको छ ।