काठमाडौं: नजिकिँदै गरेका ठूला चाडपर्वले नेपालमा आयात वृद्धि गराएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्मको तथ्यांकले यो देखाएको हो।
चालु आवको पहिलो दुई महिनामा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ, जुन गत आवको तुलनामा १.०८ प्रतिशतले बढी हो। गत वर्षको साउन-भदौ अवधिमा नेपालले २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँको सामान आयात गरेको थियो, जसमा यो वर्ष २ अर्ब ७९ करोड रुपैयाँको वृद्धि भएको छ।
नेपालको वैदेशिक व्यापार लामो समयदेखि सुस्त देखिएको भए पनि, दशैं र तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा आयातमा बृद्धि भएको भन्सार विभागले जनाएको छ। आयातमा वृद्धि भए पनि निर्यातमा भने निराशाजनक अवस्था देखिएको छ। समिक्षा अवधिमा निर्यात ५.१२ प्रतिशतले घटेर २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँमा पुगेको छ, जबकि गत आवको सोही अवधिमा २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बराबरको निर्यात भएको थियो।
चालु आवको दुई महिनामा कुल व्यापार २ खर्ब ८७ अर्ब ६३ लाख ५७ हजार रुपैयाँ भएको छ। यस अवधिमा व्यापार घाटा १.७८ प्रतिशतले बढेर २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ पुगेकोछ।