प्रेस स्वतन्त्रतामाथि दबाब अस्वीकार्य : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महामन्त्री विपिन आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा सञ्चारगृहलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताविरुद्ध भएको उल्लेख गरेका छन्।

रास्वपाले लोकतान्त्रिक व्यवस्था, विधिको शासन, पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार तथा स्वतन्त्र पत्रकारिताको पक्षमा आफू सधैं दृढ रहेको जनाएको छ।

विज्ञप्तिमा कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अङ्गलाई दबाबमा पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट गरिएको छ।

पार्टीले घटनाको तत्काल निष्पक्ष र तथ्यपरक छानबिन गर्न, सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।

साथै रास्वपाले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई कुनै पनि दबाब वा त्रासबाट प्रभावित नभई सत्यतथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिन आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय