सरकारले विश्व बैंकसँग १५ करोड डलर ऋण लिने


काठमाडौं–सरकारले विश्व बैंक समूहसँग १५ करोड अमेरिकी डलर सहुलियत ऋण लिने भएको छ ।  मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट उक्त ऋण लिइनेछ। सरकारले ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन उक्त टोली गठन गरिन लागेको हो।


उस्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको छ । बैठकले मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो 
बैठकले ५९ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने र राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय गरेको छ ।सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ललितपुर महानगरपालिकालाई रुसी महासङ्घको उलान उदेनगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गरिएको छ ।


यस्तै, आर्थिक वर्ष २०७९्८० र आव २०८०्८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजत चालु आवका लागि नवीकरण गर्न बाधा अड्काउ फुकाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा कार्यरत माहुत प्रेमलाल बछार चौधरी पक्षघात भई कामकाज गर्न असमर्थ भएकाले सेवा अवधि थप गरी अवकाश दिइएको छ । निजामति सेवा ऐन, २०४९ अनुसार, चौधरीको ६ वर्ष चार महिना सात दिन समयावधि थप गरी अवकाश दिइएको छ । अवकाश मिति भने २०८० पुस ५ गतेदेखि लागू हुने गरी निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।
 

प्रतिक्रिया