प्रधानमन्त्री दाहालको आरोप: कांग्रेस-एमाले २०४७ को संविधानमा फर्किन खोज्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्दै कांग्रेस-एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन खोजेको आरोप लगाएका छन्।

उनले कांग्रेस र एमालेको सहमतिप्रति आशंका व्यक्त गर्दै भने, "दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिनुभएको छ। राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो। त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन?"

प्रधानमन्त्री दाहालले कांग्रेस-एमालेले साना दलको अस्तित्व समाप्त गर्ने र समानुपातिक समावेशीको व्यवस्था पनि हटाउने तर्फ लागेको बताए। उनले भने, "यो संविधानले स्थापित गरेका समावेशी, समानुपातिक, धर्मनिरपेक्षता जस्ता विषयहरुमाथि प्रश्नचिह्न लगाउन खोज्नुभएको छ।"

प्रधानमन्त्रीले इतिहासलाई पछाडी फर्काउन खोजिएको भन्दै आपत्ति जनाए। उनले भने, "यो देशलाई अस्थिरतामा धकेल्ने षड्यन्त्र भएको छ।"

प्रतिक्रिया