तीन महिनामा डेढ खर्ब लगानी प्रस्ताव


काठमाडौं– चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै करिब डेढ खर्ब बराबरको स्वदेशी तथा विदेशी लगानी प्रस्ताव भएको छ । उद्योग विभागले सार्वजनिक गरेको त्रैमासिकको विवरणअनुसार तीन महिनाको अवधिमा १ खर्ब ४६ अर्ब बराबरको लगानीका स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको हो ।


आर्थिक वर्ष २०७८÷७९ को असोज मसान्तसम्ममा १ खर्ब २२ अर्ब बराबरको लगानीमा स्वदेशी ८७ उद्योग दर्ता भएको विभागले जनाएको छ । जसमा २६ वटा ठूलो, ३४ वटा मझौला र २७ वटा साना उद्योग दर्ता भएको छ । त्यस्तै, सोही अवधिमा २४ अर्ब बराबरको १ सय ७ वटा विदेशी उद्योग दर्ता भएका छन् ।


तीन महिनाको अवधिमा उद्योग दर्ता भई लगानी प्रस्ताव गरेका स्वदेशी तथा विदेशी परियोजनाहरूमा १५ हजार ३ सय २९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने उल्लेख गरेको छ । जसमा स्वदेशी उद्योगले ८ हजार १ सय ३४ जनालाई र विदेशी उद्योगले ७ हजार १ सय ९५ जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।


त्यसैगरी, विभागका त्रैमासिकको प्रगति विवरणअनुसार ५ वटा डिजाइन र ९ सय १० वटा ट्रेडमार्क दर्ता भएको जनाएको छ । साथै, विभागले १४ वटा प्रारम्भिक वातावराण्ीय परीक्षण, ५४ ट्रेडमार्कलाई मुद्दा कारबाही गरेको तथ्याङ्कले देखाउँदछ ।


 

प्रतिक्रिया