काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा पुगेको हो। बजारमा हरियाली देखिए पनि कारोबार रकममा भने गिरावट आयो। आज कुल ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार रुपैयाँको मात्र कारोबार भएको छ।
कुल १३ उपसूचकमध्ये ७ समूहको मूल्य बढ्दा ६ समूहको मूल्य घट्यो। कारोबार अवधिभर ३१२ कम्पनीका एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच भए। आज १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।
कारोबारको सुरुवातमा नेप्सेले हरियाली देखाए पनि बीचमा केही गिरावट आएको थियो। तर अन्तिम समयमा पुनः सुधार देखियो। बजारमा लगानीकर्ताहरूको मनोबल केही बलियो देखिए पनि कारोबार रकममा आएको गिरावटले सजगता अपनाउनुपर्ने देखिएकोछ।