राजावादी समूहद्वारा सोमबार उपत्यका बन्दको घोषणा

काठमाडौं। राजसंस्था पुनःस्थापनाको माग गर्दै विभिन्न राजावादी समूहहरू मिलेर गठित संयुक्त जनआन्दोलन समितिले भोली (जेठ १९ गते) काठमाडौं उपत्यका बन्दको कार्यक्रम घोषणा गरेका छन्। समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गर्दै सरकारको बर्बर दमनको विरोधस्वरूप आन्दोलनको स्वरूप परिवर्तन गर्दै उपत्यका बन्द गर्न लागिएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “सरकारले हाम्रो शान्तिपूर्ण आन्दोलनमाथि अमानवीय दमन गरेपछि हामी बाध्य भएर आन्दोलनको रूपान्तरण गरेका छौं। त्यसैअनुसार भोली उपत्यका बन्द हुनेछ।”

विज्ञप्तिमार्फत सहभागीहरूलाई आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ। यसअघि आइतबारको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित अन्य नेताहरू पक्राउ परेका थिए। राजावादी समूहले उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप लगाएको छ।

सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण आन्दोलनमा संलग्न कमल थापाजस्ता नेतामाथि गरिएको व्यवहार अत्यन्त निन्दनीय छ। सरकारको दमनकारी प्रवृत्तिको हामी घोर विरोध गर्दछौं।”

प्रतिक्रिया