काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको बिमा क्षेत्रमा उल्लेख्य विस्तार भएको छ। जीवन बिमा व्यवसायले पहिलोपटक दुई खर्ब रुपैयाँको सीमा पार गर्दा निर्जीवन बिमा व्यवसाय पनि दोहोरो अंकले बढेको छ।
नेपालमा सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनी र तीन लघु जीवन बिमा कम्पनीले गत आर्थिक वर्षमा कुल दुई खर्ब चार अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२.२४ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा जीवन बिमाबाट एक खर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको थियो।
समीक्षा अवधिमा ठूला जीवन बिमा कम्पनीहरूले दुई खर्ब एक करोड ९१ लाख रुपैयाँ र लघु जीवन बिमा कम्पनीहरूले एक अर्ब २१ करोड आठ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। वैदेशिक रोजगार बिमाबाट थप तीन अर्ब ३६ करोड ७० लाख रुपैयाँ संकलन भएको छ, जुन नियमानुसार सबै जीवन बिमा कम्पनीबीच बाँडफाँट गरिन्छ। हाल जीवन बिमा कम्पनीहरूमा एक करोड ६७ लाख ९२ हजार २३० सक्रिय बिमा पोलिसी रहेका छन्।
नयाँ व्यवसायतर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा प्रथम बिमाशुल्क अर्थात् नयाँ व्यवसाय २१ प्रतिशतले बढेर ५३ अर्ब ८७ करोड ६५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो व्यवसाय ४४ अर्ब ५१ करोड ३० लाख रुपैयाँ रहेको थियो।
जीवन बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ बिमाशुल्क संकलन गर्दै अग्रस्थान कायम राखेको छ। दोस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्सले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ र तेस्रो स्थानमा एलआईसी नेपालले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्।
यता निर्जीवन बिमा व्यवसाय पनि गत आर्थिक वर्षमा १५.६० प्रतिशतले विस्तार भएको छ। हाल सञ्चालनमा रहेका १४ ठूला र चार लघु गरी १८ निर्जीवन बिमा कम्पनीले कुल ५१ अर्ब ९२ करोड २४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा यो रकम ४४ अर्ब ८१ करोड २६ लाख रुपैयाँ थियो।
निर्जीवन बिमा कम्पनीमध्ये ठूला कम्पनीहरूले ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ र लघु कम्पनीहरूले एक अर्ब ३१ करोड ९३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। समीक्षा अवधिमा ३४ लाख ६७ हजार १६७ वटा निर्जीवन बिमा पोलिसी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको ३२ लाख ४४ हजार ३८३ पोलिसीभन्दा बढी हो।
बिमाशुल्क वृद्धिदरका आधारमा निर्जीवन बिमा व्यवसाय जीवन बिमाभन्दा तीव्र गतिमा विस्तार भएको देखिएको छ।
निर्जीवन बिमा कम्पनीमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बिमाशुल्क संकलन गर्दै अग्रस्थानमा रहेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स पाँच अर्ब ४२ करोड २२ लाख रुपैयाँ बिमाशुल्कसहित दोस्रो स्थानमा रहेको छ।