काठमाडौं। नेपाली सांगीतिक क्षेत्र विशेष गरी लोकदोहोरी गीतहरू प्रायः आलोचनाको केन्द्रमा पर्ने गर्छन्। केही कलाकारका कारणले राम्रो सिर्जना गर्ने सर्जक र कलाकारहरू पनि ओझेलमा पर्छन्। तीज गीत पनि यस्तै आलोचना खेप्ने विधा हो। तीज गीतमा मौलिकता हराएको भन्दै आलोचना भइरहेका बेला जापानमा रहेका युवा सर्जक प्रेम सापकोटाले सार्वजनिक गरेको नयाँ गीत "कालि पसम" ले निकै चर्चा पाइरहेको छ। गीतका २ लाखभन्दा धेरै टिकटक भिडियो बनेका छन् भने १८ लाखभन्दा धेरै दर्शक सहित गीत अहिले उत्कृष्ट सूचिको पहिलो नम्बरमा छ।
यो वर्ष सार्वजनिक भएका तीज गीतहरूमध्ये "कालि पसम" गीत सम्भवतः सबैभन्दा धेरै प्रशंसा पाएको गीत बनेको छ। गीतले प्राप्त गरेको भ्यूजबाट पनि यो कुरा प्रष्ट देखिन्छ। गीतले २३ सयभन्दा धेरै प्रतिक्रिया पाएको छ भने सबैले गीत राम्रो भएको धारणा राखेका छन्। यता सर्जक सापकोटाले भने आफ्नो गीत-संगीतमा लागेको एउटा सपना पूरा भएको बताउँदै सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन्।
गीतकार प्रेम सापकोटा सोनुको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा सापकोटाको शब्द तथा संगीत रहेको छ। शान्ती श्री परियारको गायकीलाई दर्शक-श्रोताले खुलेर प्रशंसा गरेका छन्। शान्ती श्रीले गीतमा आफ्नो कोकीलकण्ठी आवाजमै अभिनय पनि दिएको आभास हुन्छ। विनोद बाजुरालीले संगीत संयोजन गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ गरेका हुन्।
अडियो जस्तै गीतको भिडियो पनि उत्कृष्ट बनेको छ। गीतको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेका छन् भने भिडियोमा स्मारिका ढकाल र जोन बम ठकुरीले अभिनय गरेका छन्। राजेश घिमिरेले छायांकन गरेको गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन्।
विवाहित महिलाले श्रीमानबाट भोगेको हिंसा र त्यसपछि निम्त्याउने समस्याहरूलाई गीतमा उतारिएको छ।