किन निरन्तर ओरालो लागिरहेको छ नेप्से ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अंकले घट्दै २६६०.०२ विन्दुमा झरेको छ। आज नेप्से १४.४५ अंक अर्थात् ०.५४ प्रतिशतले घटेर उक्त विन्दुमा बन्द भएको हो।

बजारमा अधिकांश समूहका सूचकहरू ओरालो लाग्दा समग्र बजार दबाबमा देखिएको हो। कारोबार भएका १३ उपसमूहमध्ये फाइनान्स र ट्रेडिङ समूह बाहेक सबै समूहका सूचकहरू घटेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, माइक्रोफाइनान्स लगायतका क्षेत्र राताम्मे बनेका छन्।

आज ३३८ वटा कम्पनीका एक करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ रुपैयाँ पुगेको छ। बजारमा गिरावट आए पनि कारोबार रकम भने उल्लेखनीय रहेको देखिएको छ।

बुधबारको कारोबारमा टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाइ गरेका छन्। यी दुवै कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १० प्रतिशतको वृद्धि भएको छ। त्यसैगरी भुजुङ हाइड्रोपावरको शेयर मूल्य १४.६९ प्रतिशतले बढेर उल्लेखनीय लाभ दिने कम्पनीको सूचीमा परेको छ।

यता बजार घटेसँगै केही कम्पनीका लगानीकर्ताले भने घाटा व्यहोरेका छन्। आज सोपान फार्मास्युटिकल्सको शेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले घटेको छ। बजारमा बिक्री दबाब बढ्दा उक्त कम्पनीको शेयरमा उल्लेख्य गिरावट आएको हो।

कारोबार रकमका आधारमा अन्खु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीको २९ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको सोपान फार्मास्युटिकल्सको १७ करोड २२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

पछिल्ला केही दिनदेखि उतारचढावपूर्ण देखिएको शेयर बजारमा लगानीकर्ताको मनोविज्ञान मिश्रित देखिएको छ। केही हाइड्रोपावर कम्पनीमा खरिद चाप बढे पनि अधिकांश क्षेत्रमा बिक्री दबाब कायम रहँदा नेप्से परिसूचक घटेको विश्लेषण गरिएको छ। बजारका जानकारहरूका अनुसार आगामी दिनमा बैंकिङ प्रणालीमा तरलता, ब्याजदरको अवस्था, कम्पनीहरूको वित्तीय विवरण तथा नीतिगत विषयहरूले बजारको दिशा निर्धारण गर्नेछन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय