काठमाडौँ । चर्चित लोकदोहोरी गीत ‘सालको पात’ मार्फत दर्शक–श्रोताको मन जित्न सफल तीन सर्जक पुनः एकपटक नयाँ सिर्जना लिएर आएका छन्। ‘सालको पात’को सफलतापछि फरक–फरक सिर्जनामार्फत सक्रिय रहँदै आएका उनीहरू ‘सानो मन नगर’ बोलको नयाँ गीतमार्फत फेरि एकसाथ प्रस्तुत भएका हुन्।
चर्चित शब्द सङ्कलक नवराज पन्तको शब्द, बसन्त थापाको लय तथा कुलेन्द्र विश्वकर्माको स्वर रहेको गीतमा यसपटक गायिका मेलिना राई स्वरमा साथ दिएकी छन्। गीतले माया, प्रेम र सम्बन्धका भावनात्मक पक्षलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।
एच.भी.एन. किस्मतको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट ढंगले निर्माण गरिएको छ। भिडियोमा गायक कुलेन्द्र विश्वकर्मासँगै अभिनेत्री जुना सुन्दासको अभिनय देख्न सकिन्छ। दुवै कलाकारको प्रस्तुतिले गीतको भावलाई जीवन्त बनाएको छ।
गीतको भिडियो निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन्। आकर्षक दृश्य संयोजन र कथावस्तुले भिडियोलाई थप प्रभावशाली बनाएको छ।
‘सानो मन नगर’ कुलेन्द्र विश्वकर्माको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएलगत्तै गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। लोकदोहोरी संगीतप्रेमीहरूले गीतको शब्द, संगीत तथा भिडियोको खुलेर प्रशंसा गरिरहेका छन्।