सुरक्षा अवस्था सुधारिएपछि वीरगञ्जको कर्फ्यु हट्यो

पर्सा जिल्लाको जिल्ला प्रशासन कार्यालय पर्सा ले वीरगञ्ज महानगरपालिकामा लागू गरिएको कर्फ्यु आदेश फिर्ता लिएको छ।

पछिल्लो समय जिल्लाको सुरक्षा अवस्था क्रमशः सहज बन्दै गएको निष्कर्षसहित प्रशासनले सोमबार साँझ ४:३० बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनामा समग्र परिस्थितिको समीक्षा तथा सर्वपक्षीय बैठकको निर्णयका आधारमा कर्फ्यु निरन्तरता दिन आवश्यक नरहेको उल्लेख गरिएको छ। यसअघि जिल्ला सुरक्षा समितिको सिफारिसमा बिहान ९:४५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको थियो।

यद्यपि अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै प्रशासनले वीरगञ्जका तोकिएका क्षेत्रमा भने निषेधाज्ञा जारी राखेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) अनुसार साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म भेला, सभा, जुलुस, प्रदर्शन तथा घेराउजस्ता गतिविधिमा रोक लगाइएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

प्रतिक्रिया