काठमाडौं । नेपाली चिया निर्यातमा भारतीय पक्षबाट देखिएको अवरोधपछि उत्पन्न समस्याको अध्ययन तथा समाधानका उपाय खोज्न सरकारले विशेष कार्यदल गठन गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको नेतृत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिवहरू सदस्य रहेका छन्।
त्यसैगरी, कार्यदलमा भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव सदस्यका रूपमा सहभागी छन्।
कार्यदलको सदस्य सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई दिइएको छ।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार कार्यदललाई चिया निर्यातमा देखिएका समस्याको विस्तृत अध्ययन गरी तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन दुई साताभित्र पेश गर्ने जिम्मेवारी दिइएको छ।
सरकारले भारतीय अवरोधका कारण नेपाली चिया निर्यात क्षेत्रमा परेको प्रभावको मूल्यांकन गर्दै निर्यात प्रक्रियालाई सहज बनाउने तथा दीर्घकालीन समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यदल गठन गरेको जनाएको छ।