काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रप्रति पार्टी कहिल्यै सम्झौतामा नउत्रिएको बताएका छन्। मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस सधैं मुलुकको कठिन अवस्थालाई सही रूपमा बुझेर समाधानतर्फ अघि बढ्ने पार्टी भएको उल्लेख गरे।
उनका अनुसार, जुनसुकै कालखण्डमा पनि कांग्रेसले जनताको हितका पक्षमा निर्णय गर्दै देशलाई जटिलताबाट सहजतातर्फ ल्याउने भूमिका खेलेको छ। यही विशेषताका कारण कांग्रेस जनताको प्यारो पार्टीका रूपमा स्थापित भएको देउवाको भनाइ थियो।
‘जेन–जी’ आन्दोलनका क्रममा सांघातिक हमलामा परी घाइते भएका देउवा मंगलबार पहिलोपटक सार्वजनिक रूपमा देखिएका हुन्। आन्दोलनपछि पहिलोपटक कांग्रेसको केन्द्रीय समिति बैठक बसेको हो।
बैठकमा सभापति देउवाले लोकतन्त्र प्राप्ति तथा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका आन्दोलनमा कांग्रेस सधैं अग्रपंक्तिमा रहेको बताए। उनले अहिलेको बैठक देशभित्र र विदेशमा रहेका नेपालीको ध्यानाकर्षणको विषय बनेको उल्लेख गर्दै समसामयिक राजनीतिक विश्लेषणका आधारमा देशलाई उचित दिशातर्फ लैजाने निर्णय आवश्यक रहेको बताए।
भदौ २३ र २४ गते कांग्रेस केन्द्रीय कार्यालयमा भएको आगजनी, तोडफोड र लुटपाटप्रति दुःख व्यक्त गर्दै देउवाले घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरे। उनले घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे।