भेपमार्फत सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरासहित ९ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी तथा हिनामिना गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरासहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, राजनीतिक व्यक्तिहरू र तस्करहरूको मिलेमतोमा करिब साढे ८ किलो सुन चोरी–निकासी तथा हिनामिना गरिएको ठहर गरिएको छ ।

यो घटना २०७९ पुस १० गतेको हो । दुबईबाट फ्लाई दुबईको उडानमार्फत आएका चिनियाँ नागरिक लि हाङ सोङले दुई वटा सुटकेसभित्र ७३० थान ई–सिगरेट (भेप) ल्याएका थिए । भन्सार जाँचका क्रममा एक्स–रे मेसिनले शंकास्पद वस्तु देखाएपछि ती भेप जफत गरिएका थिए ।

अनुसन्धानका क्रममा ती भेपभित्र ८,४८०.५१७ ग्राम अर्थात् करिब साढे ८ किलो सुन लुकाएर ल्याइएको खुलेको थियो । तर, भन्सार कर्मचारी र प्रभावशाली व्यक्तिहरूको मिलेमतोमा उक्त सुन सुरक्षित राख्नुको साटो गोदामबाटै गायब गरी अन्य वस्तुसँग सट्टापट्टा गरिएको र अवैध रूपमा बिक्री गरिएको अभियोग लगाइएको छ ।

अख्तियारका अनुसार सुन छुटाउनका लागि महरा र उनका छोरा राहुल महराले चिनियाँ तस्करहरूसँग अस्वाभाविक टेलिफोन सम्पर्क गरेका थिए । साथै, भन्सार कर्मचारीहरूलाई प्रभावमा पारेर गैरकानुनी लाभ लिन खोजिएको दाबी गरिएको छ ।

यस प्रकरणमा विमानस्थल भन्सारका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्कालगायतलाई पनि प्रतिवादी बनाइएको छ । साथै चिनियाँ नागरिक दाओजिन वाङ, लोकेन्द्र पौडेल र राहुल महरा पनि मुद्दामा समावेश छन् ।

यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने उच्च अदालत पाटनले पछि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

 

प्रतिक्रिया