सरकारलाई सार्वजनिक ऋणको दायित्व पौने २४ खर्ब


काठमाडौं–नेपालको सार्वजनिक ऋणको दायित्व बढेर २३ खर्ब ७१ अर्ब २५ करोड रूपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको सार्वजनिक ऋणको दायित्व करिब ७२ अर्ब रूपैयाँ थपिएको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मंसिर मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण बढ्दै गइरहेको छ । आन्तरिकतर्फको ऋणको दायित्व ११ खर्ब ९७ करोड र बाह्यतर्फको ऋणको दायित्व ११ खर्ब ७३ अर्ब रूपैयाँ रहेको छ।


चालु आर्थिक वर्षको भदौ सम्म मुलुकको सार्वजनिक ऋणको अवस्था २३ खर्ब ९ अर्ब ८६ करोड रूपैयाँ रहेको थियो। मंसिर मसान्तसम्म आइपुग्दा भने मुलुकको सार्वजनिक ऋणको दायित्व बढेर झण्डै ७२ अर्ब रूपैयाँ पुगेको छ ।  कार्यालयका अनुसार प्रत्येक महिना सार्वजनिक ऋणको दायित्व बढ्दै गइरहेको छ ।
साउनमा आन्तरिक ऋण १३ अर्ब ६ करोड, भदौमा ३१ अर्ब २० करोड, असोजमा ५३ अर्ब पाँच करोड, कात्तिकमा शून्य र मंसिरमा १४ अर्ब रूपैयाँ आन्तरिक ऋण प्राप्ति गरेको छ ।साउनदेखि मंसिरसम्ममा आन्तरिक ऋण एक खर्ब ११ अर्ब ३१ करोड रूपैयाँ प्राप्ति भएको छ।


त्यसैगरी साउनमा बाह्यऋणतर्फ दुई अर्ब ७१ करोड, भदौमा पाँच अर्ब ३० करोड बाह्य ऋण लिइएको थियो। त्यसैगरी असोजमा सात अर्ब ५० करोड, कात्तिकमा एक अर्ब ८७ करोड र मंसिरमा दुई अर्ब ५६ करोड रूपैयाँ बाह्य ऋण लिएको थियो। गत साउनदेखि मंसिर मसान्तसम्ममा १९ अर्ब ९७ करोड रूपैयाँ बाह्य ऋण लिएको छ। सरकारले चालु आवको पाँच महिनासम्मको अवधिमा आन्तरिक ऋणतर्फ ४२ अर्ब ८४ करोड रूपैयाँ भुक्तानी गरेको छ। त्यसैगरी बाह्यतर्फ १६ अर्ब ५३ अर्ब ऋण भुक्तानी गरेको छ।


सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेपछि चालु खर्च धान्नसमेत ऋण लिनुपर्ने अवस्था सिर्जना भइरहेको छ। मुलुकको आन्तरिक तथा बाह्य ऋणको दायित्वको ग्राफ पनि महिनापिच्छे उकालो लाग्दै गएको छ।

प्रतिक्रिया