सर्वसाधारणका लागि गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओ खुला

काठमाडौं: गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले आज आइतबार (पुस २१ गते) सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

यसअघि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर कुल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने योजना सार्वजनिक गरेको थियो। जसमध्ये, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता, र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता छुट्याइएको छ। बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

सर्वसाधारणले पुस २१ गतेदेखि २४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन सी-आस्वा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत गर्न सकिनेछ।

यो आइपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। रेटिङ एजेन्सी केयर नेपालले गार्डियन माइक्रो लाइफ इन्सुरेन्सलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ। यो रेटिङ २०८२ साउन २१ गतेसम्म वैध रहनेछ।

प्रतिक्रिया