अफगानिस्तानमा आइतबार राति आएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणले मापन गरेको अनुसार भूकम्पको तीव्रता ६ रेक्टर स्केल रहेको थियो। स्थानीय समयानुसार राति ११:४७ बजे आएको यस भूकम्पको केन्द्र पाकिस्तानको सीमा नजिकै, अफगानिस्तानको पूर्वी क्षेत्र नान्गारहार र कुनार प्रान्त वरपर रहेको थियो।
स्थानीय अधिकारीहरूको प्रारम्भिक विवरणअनुसार, नान्गारहार र कुनार प्रान्तमा मात्रै कम्तीमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्। बीबीसीले उल्लेख गरेअनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ, किनभने दुर्गम र पहाडी क्षेत्रमा उद्धार टोली पुग्न कठिन भइरहेको छ।
दुर्गम गाउँघरमा घरहरू भत्किँदा धेरै जना घरभित्रै थुनिएको हुन सक्ने आशंका गरिएको छ। भूकम्पका कारण पहिरो र बाढी पनि आएकोले उद्धार कार्य थप जटिल बनेको छ। केही क्षेत्रमा सडक सम्पूर्ण अवरुद्ध भएका छन् भने कतिपय स्थानमा मोबाइल नेटवर्क पनि काम नगरेको स्थानीयहरूले बताएका छन्।
तालिबान सरकारका अधिकारीहरूले मानवीय संस्थाहरूलाई उद्धारमा सहयोग गर्न आग्रह गरेका छन्। उद्धार टोलीलाई पहिरो र बाढीले अवरोध पुर्याइरहेको हुँदा घाइतेलाई स्थलमार्ग र हवाईमार्ग दुवै प्रयोग गरी अस्पताल पुर्याउने काम भइरहेको छ। हेलिकप्टरमार्फत कुनार प्रान्तमा स्वास्थ्यकर्मी र औषधि पठाइएको छ।
कुनार प्रान्तका एक अधिकारीले भने, “मृत्युको संख्या भयानक छ” भन्दै अझै ठ्याक्कै विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।
यो भूकम्पले अफगानिस्तानको पहाडी क्षेत्रमा पुनः मानवीय संकट गहिरो बनाएको छ। यसअघि पनि प्राकृतिक प्रकोप र राजनीतिक अस्थिरताले प्रभावित हुँदै आएको अफगानिस्तानमा यस पटकको भूकम्पले अझ धेरै पीडित बढाउने देखिन्छ।