• गृहपृष्ठ /
  • समाचार ,
  • Breaking News ,
  • अर्थतन्त्र ,
  • विशेष/भिडिओ

‘ट्याक्स हेभन’ मुलुकमा १६ नेपालीको गैरकानुनी लगानी

कृष्ण आचार्य र रामु सापकोटा | खोज पत्रकारिता केन्द्र
काठमाडौँ — गैरकानुनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा कम्पनी खोलेर नेपाली धनाढ्यहरूले लगानी र सेयर खरिदबिक्री गरेको विषयमा विस्तृत रिपोर्ट सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘आईसीआईजे’ को संयोजनमा खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले सार्वजनिक गरेको एउटा रिपोर्टमा नेपालका केही व्यक्ति र व्यापारिक घरानाले ‘अफसोर कम्पनी’ खोलेर गोप्य लगानी गरेको उल्लेख छ । 
विगतमा पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स सार्वजनिक गरेको आईसीआईजेले यसपटकको रिपोर्टिङलाई ‘प्यान्डोरा पेपर्स’ भन्ने नाम दिएको छ । र, यसलाई ‘अफसोर लगानी’ तर्फ ‘हालसम्मकै सबैभन्दा ठूलो खुलासा’ भनेको छ । ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोजमा खोपकेका तर्फबाट पत्रकारहरू कृष्ण आचार्य र रामु सापकोटा सहभागी थिए ।
९० देशका ३३० भन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, ‘सेलेब्रेटी’ र अपराधमा संलग्नहरूले समेत अफसोर खाता र सेल कम्पनीमार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाइरहेको दाबी प्यान्डोरा पेपर्समा गरिएको छ । यो सूचीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ । तर, नेपालका राजनीतिज्ञ, सरकारी अधिकारी, सेलेब्रिटी र अपराधमा संलग्न व्यक्तिहरूको लगानी भने नभेटिएको रिपोर्टले जनाएको छ ।

कर प्रणाली पारदर्शी नहुने र जवाफदेहिता नखोजिने ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्ड्समा प्रतिनिधिसभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको प्यान्डोरा पेपर्समा उल्लेख छ । ती कम्पनीहरू विनोद, श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलका नाममा छन् ।

यस्तै नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनले ‘अफसोर कम्पनी’ खोलेर कारोबार गरेको विवरण उल्लेख छ । ‘गोल्छा अर्गनाइजेसनसम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाका नाममा ब्रिटिस भर्जिन आइल्यान्ड्समै कम्पनी छ,’ खोपके रिपोर्टमा उल्लेख छ ।


त्यसैगरी यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनी भेटिएको दाबी रिपोर्टमा छ । यसबाहेक राजेन्द्र शाक्य, सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, सुधीर मित्तल तथा नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सर्राफको नाम र विवरण पनि खोपकेको समाचारमा उल्लेख छ ।

स्वदेशबाट पैसा लगेर विदेशमा लगानी गर्न नेपाली कानुनले निषेध गरेको छ । तर, कुनै पनि नागरिक अविच्छिन्न रूपमा १८३ दिन विदेशमा बस्छ भने गैरआवासीय नेपालीको हैसियतमा विदेशमा कम्पनी खोल्न र कारोबार गर्न पाउने सुविधा छ । तर, गैरआवासीय नेपालीका रूपमा विदेशमा खाता खोलेर नेपाली लगानी उता लैजानु भने कानुनविपरीत हो ।

खाता खोलिएका भनिएका नेपालका व्यक्ति तथा घरानाले खासमा कति रकम कुन माध्यमबाट कसरी विदेश लगेका हुन् भन्ने विस्तृत विवरण भने प्यान्डोरा पेपर्समा छैन । त्यस्तै गैरआवासीय नेपालीको हैसियतमा खुलेका खातावालको नाममात्र आएको छ, तर उनीहरूले कानुनअनुसार खाता खोलेका हुन् कि कानुन मिचेका हुन् भन्नेमा रिपोर्ट आफैं अन्योलमा छ । जसमाथि आरोप लागेको हो, उनीहरूको भनाइ पनि अत्यन्तै संक्षिप्तमा मात्र समेटिएको छ, जसले न उनीहरूलाई सफाइ दिएको छ न आरोप थप बलियो बनाएको छ । तापनि प्यान्डोरा पेपर्समार्फत गरिएको खुलासाले विदेशमा गैरकानुनी रूपमा खाता खोल्ने, कम्पनी सञ्चालन गर्ने र कारोबार गर्ने विषयमा थप बहसको वातावरण बनाएको छ ।

ट्याक्स हेभन मुलुकमा अफसोर कम्पनी खोलेर लगानी गर्नु किन गम्भीर विषय हो भन्नेबारे आईसीआईजेका निर्देशक जेरार्ड रायलले प्रस्ट्याएका छन् । प्यान्डोरा पेपर्स सार्वजनिक हुनुअघि अस्ट्रेलियाको एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले ‘अफसोर कारोबारले सम्बन्धित देशमा असमानता र गरिबी बढाउनेदेखि करबापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको’ बताएका छन् ।

रायलका अनुसार १४ वटा सेवा प्रदायक ‘ल फर्म’ का एक करोड २० लाख कागजात (फाइल्स) केलाएर यो रिपोर्ट तयार पारिएको हो । ‘यी ल फर्मले विश्वका जुनसुकै व्यक्तिका लागि स्वदेशबाहिर कम्पनी र बैंक खाता खोलिदिने काम गरिरहेका छन्,’ उनको भनाइ छ ।

आईसीआईजेले यी सबै कागजात एउटै स्रोतबाट पाएको जनाएको छ । ‘आम मानिसका लागि यी कागजात धेरै महत्त्वपूर्ण छन् । यी दस्ताबेजले के देखाउँछन् भने यहाँ एउटा छाया विश्व छ, एउटा छाया अर्थव्यवस्था चलिरहेको छ । यो छाया संसारबारे हामी सचेत छैनांै, जहाँ कपट र धोका छ । यसले पहिल्यैदेखिका धनीलाई अझै धनी बनाइरहेको छ,’ रायलले भनेका छन् ।

नेपाली ‘कानुनमा रहेका छिद्र उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने व्यवसायी विनोद चौधरीसहित उनको परिवारका पाँच जनाको नाममा ब्रिटिस भर्जिन आइल्यान्ड्समा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता छन् । प्यान्डोरा पेपर्सका अनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्समा सिनोभेसन इन्कर्पोरेटेड, सीजी होटल्स एन्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूका नाममा दर्ता छ ।

कानुनको ‘छिद्र उपयोग’ गरेर १८३ दिन विदेश बसेका छोराहरू राहुल र बरुणका नाममा विदेशमा खाता खोली वैधानिक लगानी गरेको खुलासा स्वयं चौधरीले आफ्नै आत्मकथामा पनि गरेका छन् । तर, खोपके रिपोर्टमा पूर्वअर्थ सचिव रामेश्वर खनाल भन्छन्, ‘उहाँले गलत रूपमा प्रयोग गर्नुभएको छ । यो व्यवस्थाले नेपालबाट विदेशमा पैसा लैजाने र त्यहाँ लगानी गर्नका लागि छुट दिएको हैन । कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले आम्दानी गर्छ भने विदेशमै लगानी गर्न पाउँछ ।’ तर चौधरीले नेपालबाटै रकम लगेर विदेशमा लगानी गरेको हुँदा उनको दाबी ‘तर्कसंगत’ नभएको खनालको प्रतिक्रिया छ । त्यस्तै, गैरआवासीय हैसियतमा रहेका छोराबाहेक विनोद आफैं, उनका जेठा छोरा निर्वाण र श्रीमतीका नाममा समेत विदेशमा गैरकानुनी लगानी रहेको रिपोर्टमा उल्लेख छ ।

‘मेरा बुवा एवम् सीजीका अध्यक्षका अनुसार सिनोभेसन र हाम्रा सबै कम्पनी समूहले विदेशी लगानीसम्बन्धी नेपाली कानुनसहित लागू भएका सबै कानुन पालना गरेका छन् । त्यसैले तपाईंको इमेलमा उल्लिखित अनुसन्धान सम्बन्धमा हाम्रा थप टिप्पणी र विचार छैनन्,’ खोपकेका लागि वासिङ्टन पोस्टका पत्रकार पिटर होरिस्कीले सोधेको प्रश्नमा राहुल चौधरीले भनेका छन् ।

गोल्छा परिवारका परिवारका सदस्यले ब्रिटिस भर्जिन आइल्यान्ड्समा ‘फ्ल्याटउड लिमिटेड’ खोल्दा पनि नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरण छ । जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्डअनुसार उक्त कम्पनीमार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्यान्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन् । उक्त खाता सञ्चालनका लागि १२ फेब्रुअरी २००८ मा दिवाकर, हितेश र लोकमान्य गोल्छालाई कम्पनीले अधिकार दिएको बताइएको छ । फ्ल्याटउड लिमिटेड नामक कम्पनीमार्फत दिवाकर गोल्छालगायतको समूहले सन् २००८ मा नेपालको इस्टर्न सुगर मिल्सको सेयर खरिद गर्ने निर्णय गरेको भेटिएको खोपकेले उल्लेख गरेको छ ।

प्यान्डोरा पेपर्सका अनुसार अजेयराज सुमार्गी सन् २०१० मा ब्रिटिस भर्जिन आइल्यान्ड्समा खोलिएको जोधार इन्भेस्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन् । यसैगरी सोही मुलुकमा दर्ता गरिएको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक, ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको जनाइएको छ । त्यहाँ लगानी गर्ने क्रममा उनले नेपाली पासपोर्ट प्रयोग गरेका छन् ।

नेपालस्थित किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृदराज घिमिरे र उनका व्यावसायिक साझेदार पुरुषोत्तम पौडेलले पनि त्यहाँ ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेको भेटिएको खोपकेले जनाएको छ ।

उक्त आइल्यान्ड्समा पेगासस एअर चार्टस् इंक कम्पनी खोलेको भेटिएका श्री एअरलाइन्सका सञ्चालक सुधीर मित्तलले खोपकेलाई संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन्, ‘आफू २५ वर्षसम्म नेपालमा नबसेको र बुवाको मृत्युपछि मात्र नेपाल फर्किएको हुँ ।’ त्यसको अर्थ के हो भन्नेबारेमा प्यान्डोरा पेपर्सले व्याख्या गरेको छैन ।

नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सर्राफ र उनको परिवारले पनि ब्रिटिस भर्जिन आइल्यान्ड्समा कम्पनी खोलेर कारोबार गरेको खोपकेले दाबी गरेको छ, तर सर्राफ नेपाली नभई भारतीय मूलका व्यवसायी हुन् ।

प्रतिक्रिया