ललितपुर- ललितपुरको जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आईतबार सहभागी हुनुभयो। परम्पराअनुसार, लगनखेलबाट जावलाखेल ल्याएको चौथो दिन भोटो देखाइन्छ, र यस अवसरमा राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीहरूले भोटो देखाए।
राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, र गुठी संस्थानका पदाधिकारीहरूले स्वागत गरे। उहाँले मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो।
उपस्थित अन्य उच्च पदस्थ अधिकारीहरूमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, र मन्त्रीहरू थिए।
सार्वजनिक विदाको घोषणा गरिएको यो अवसरमा आम नागरिकहरूको उल्लेख्य सहभागिता थियो।