आमाको मुख हेर्ने पर्व आज, देशभर श्रद्धा र भक्ति साथ मनाइँदै

आमाको मुख हेर्ने पर्व आइतबार देशभर श्रद्धा र भक्ति साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा मनाइने यो पर्वमा आमालाई सम्मान गर्दै मीठा खानेकुरा खुवाइन्छ र आशीर्वाद लिने परम्परा रहेको छ।

शास्त्रीय मान्यताअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा रहेका कारण श्रद्धा, भक्ति र आदरका साथ आमाको सम्मान गर्ने परम्परा छ। छोराछोरीहरूले आज बिहानै स्नान गरी आमालाई राम्रा कपडा लगाइदिने र तागतिला, मीठा खानेकुरा खुवाउने चलन छ।

आमा दिवङ्गत भएकाहरूले भने आमाको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गरेर श्रद्धापूर्वक स्मरण गर्ने गर्छन्। सनातन वैदिक धर्मशास्त्रमा "जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी" भनिएको उल्लेख गर्दै धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले आमाको महत्त्व जन्मभूमिसँग तुलना गरिएको बताए।

आफ्ना सन्तानलाई गर्भमा नौ महिना धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व बाबुभन्दा पनि हजार गुणा बढी हुने शास्त्रीय विश्वास रहेको भट्टराईले बताए। जीवित आमालाई सम्मानपूर्वक खुसी बनाइने र दिवङ्गत आमालाई तर्पण, पिण्डदान र सिदादान गरिने परम्परा रहेको उनले उल्लेख गरे।

यस अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिका मातातीर्थमा मेला लाग्नेछ। मातातीर्थ मेलाका लागि सबै तयारी पूरा भइसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए।

यद्यपि, यस वर्ष गुरु अस्त वा सूर्यग्रहण जस्ता खगोलीय घटना भएका कारण आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले प्रस्ट पारेको छ।

प्रतिक्रिया