काठमाडौं - आइतबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घट्दै २६४३.९३ विन्दुमा झरेको छ। साताको पहिलो दिन नै सूचक घटे पनि नेप्सेमा ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार कुल १ करोड ५७ लाख २० हजार ३६७ कित्ताको शेयर किनबेच भयो। यसमध्ये ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।
शेयर बजारमा विकास बैंक, जलविद्युत, लघुवित्त, म्युचुअल फन्ड र अन्य समूहका सूचकमा सुधार देखिएको छ। तर, बैंकिङ, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहका सूचक घटेका छन्। आइतबारको गिरावटले नेप्सेको पुँजीकरण ०.३९ प्रतिशतले घटेको छ।