काठमाडौं । सरकारले असोज १ गतेलाई शोक दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि सेयर बजार बिहीबारदेखि मात्र खुल्ने भएको छ।
यसअघि नेपाल स्टक एक्सचेञ्जले बुधबारदेखि बजार सञ्चालन गर्ने तयारी गरेको थियो। तर, जेनजी आन्दोलनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा सरकारले सार्वजनिक बिदा घोषणा गरेपछि नेप्सेले बिहीबारदेखि मात्र कारोबार हुने जानकारी दिएको हो।
गत भदौ २४ गतेदेखि सेयर बजार बन्द छ। यद्यपि आन्दोलन सुरु हुनुअघि २३ गते कारोबार भने भएको थियो।
यसअघि पनि ठूला संकटका समयमा बजार लामो समयका लागि बन्द हुने गरेको छ। भूकम्पका कारण करिब एक महिना र कोरोना महामारीका बेला करिब तीन महिना सेयर बजार ठप्प भएको थियो।