काठमाडौं – साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.९५ अंकले वृद्धि भई २७४८.७८ विन्दुमा पुगेको हो, जसमा नेप्से ०.५१ प्रतिशतले उकालो लाग्यो। आज १० अर्ब ३२ करोड ३ लाख रुपैयाँभन्दा बढीको २ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ।
यस दिन १५९ कम्पनीका शेयर मूल्य बढेका छन्, ७९ कम्पनीका घटेका छन्, भने ६ कम्पनीका शेयर मूल्य स्थिर रहेका छन्। बिहीबार नेप्से बजार प्रि–ओपन सेसनमा ४ अंकले उकालो लागेर खुलेको थियो। बजार खुलेको केही समयमा तल-माथि भए पनि पुन: सुधार भएको थियो। आजको कारोबार अवधिमा बजार एक पटक मात्र रातो देखिएको थियो।
त्यसैगरी, ६ कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीमा नकारात्मक सर्किट लागेको छ। बिहीबार कुल ३२१ कम्पनीको शेयर किनबेच हुँदा १ लाख १ हजारभन्दा बढी पटक कारोबार भयो।
समग्रमा, १३ मध्ये ७ वटा समूहमा सुधार देखिएको छ भने बाँकी ६ समूहमा गिरावट आयो। सबैभन्दा बढी हाइड्रोपावर समूहले १.३४ प्रतिशतले सुधार गर्दै ३ हजार ५७४ विन्दुमा पुगेको छ। अन्य वृद्धि भएका समूहमा वाणिज्य बैंक, विकास बैंक, होटल एण्ड पर्यटन, लघुवित्त, म्युचुलफण्ड, र अन्य रहेका छन्।
त्यसैगरी, ट्रेडिङ समूहले सबैभन्दा धेरै ०.६२ प्रतिशतले घट्दै ३ हजार ५९२ विन्दुमा झरेको छ। अन्य घटेका समूहमा फाइनान्स, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, र निर्जीवन बीमा रहेका छन्।