जनकपुरबाट रास्वपाको चुनावी अभियान औपचारिक रूपमा सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधामबाट आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेको छ। जनकपुरधामको तरहुतियागाछीमा आयोजना गरिएको ‘परिवर्तन उद्घोष सभा’ मा ठूलो संख्यामा सर्वसाधारण तथा पार्टी कार्यकर्ताको सहभागिता रहेको छ।

कार्यक्रममा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा काठमाडौंका निवर्तमान मेयर बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। रास्वपामा प्रवेश गरेपछि बालेन शाहको यो पहिलो सार्वजनिक राजनीतिक मन्तव्य हो। सभास्थलमा पार्टीको ‘घन्टी’ चुनाव चिह्न अंकित झन्डा फहराइएका छन् भने समर्थकहरूले बालेन र रविको समर्थनमा नाराबाजी गरिरहेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिने घोषणा गरेका बालेनले मधेसको प्रमुख सहर जनकपुरबाट आफ्नो औपचारिक चुनावी यात्रा सुरु गरेका हुन्। यसअघि उनले जानकी मन्दिरमा पूजा–अर्चना गरेका थिए भने सिराहाको लहान पुगेर मधेस आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

प्रतिक्रिया