हिमालयन रिइन्स्योरेन्सले क्रेडिट रेटिङ गराउँदै, ३ अर्बको आईपीओ कहिले ?


काठमाण्डौं– निजी क्षेत्रको पहिलो पूनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आईपीओ कहिले जारी गर्छ भन्ने आम नागरिकलाई चासो छ । साधारण सभाबाट आईपीओ निष्कासनको एजेण्डा पारित गर्ने तयारी छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको छ ।  सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । 


आईपीओ निष्कासनको प्रक्रियामा जाने तयारी गरेको  हिमालयन रिइन्स्योरेन्स लिमिटेडले क्रेडिट रेटिङ गराउने प्रक्रिया पनि शुरु गरेको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एएम वेष्टबाट हिमालयन रि इन्स्योरेन्सले क्रेडिट रेटिङ गराउने तयारी गरेको हो ।  कुनै पनि कम्पनी वित्तीय र व्यवस्थापकीय रुपमा कतिको सक्षम छ भन्ने अनुमान गर्नको लागी क्रेडिट रेटिङ एउटा औजार हो । निजी क्षेत्रबाट प्रवद्र्धित नयाँ कम्पनी भएकोले अन्तर्राष्ट्रिय बजारमा विश्वसनियताको लागी क्रेडिट रेटिङ एउटा आधार हुनेछ । नेपाली बीमा कम्पनीहरुबाट प्राप्त हुने व्यवसायबाट मात्र पूनर्बीमा कम्पनी पूर्ण क्षमतामा संचालन हुन नसक्ने भएकोले हिमालयन रिको लागी क्रेडिट रेटिङ आवश्यक छ ।


हिमालयन रिइन्स्योरेन्स कम्पनी गत साउनबाट राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेड समेतको प्रवद्र्धनमा रु.२१ अर्ब अधिकृत पूँजी रु.७ अर्ब जारी पूँजी सहित संचालनमा आएको हो । निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिले गत जेठमा लाइसेन्स पाएको थियो । लाइसेन्स पाएको छोटो अवधिमै आवस्यक पूँजी जुटाएर गत साउनदेखि नै पुनर्बीमा व्यवसायको शुभारम्भ गरिसकेको छ । 


नेपालको व्यवसायिक घरानाहरुको प्रमुख लगानी रहेको यस कम्पनीको चुक्ता पूँजी ७ अर्ब रहेको छ । नियम अनुसार कम्पनीले तीन अर्ब रुपैयाँ सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेर १० अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । हिमालयले तीन अर्ब रुपैयााको सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।
 

प्रतिक्रिया