ठमाडौं – तीज पर्व सकिएसँगै नेपाली संगीत बजारमा नयाँ गीतहरूको बाढी आएको छ। लोकप्रिय गीतकार र संगीतकार कस्तुप पन्तले आफ्नो नयाँ आधुनिक गीत "धेरै माया" केही दिनअघि सार्वजनिक गरेका छन्, जसले श्रोता तथा दर्शकको ध्यान तानिरहेको छ।
पर्वतमा जन्मिएका पन्तका "के भनौं र खोई," "अंगुर अमिलो," "फूलको थुंगामा," र "सामाजिक बन्धन" जस्ता गीतहरूले पहिले नै अपार सफलता पाएका थिए। दुई दशकदेखि सांगीतिक यात्रामा रहेका पन्तले लोक दोहोरी र आधुनिक गीतहरूमा आफ्नो प्रभावशाली पहिचान बनाएका छन्। तीजमा चर्चामा रहेको "बिजुली चमक्क" को अपार सफलतापछि, उनले "धेरै माया" सार्वजनिक गरेका हुन्।
"धेरै माया" गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ भने पन्तकै शब्द र संगीतले यसलाई सजाएको छ। भिडियोमा विक्रम बुढाथोकी र सञ्चिता शाहीले अभिनय गरेका छन्, क्रान्ती केसीले निर्देशन गरेको भिडियोमा अजय रेग्मीको छायांकन रहेको छ। यो गीत कस्तुप पन्तकै यूट्युब च्यानलबाट सार्वजनिक भएको छ।
कस्तुप पन्तले मौलिक गीतलाई आफ्नो सृजनाको आधार बनाउँदै नेपाली संगीत क्षेत्रमा निरन्तर क्रियाशील रहेका छन्।