बहुप्रतिभाका धनी कृष्ण केसीको आवाजमा "एउटै बाटो"

काठमाडाैं - नेपाली गीत संगीतका लगभग सबै विधामा उत्तिकै पोख्त कलाकार कृष्ण के.सी.को सुमधुर स्वरमा सजिएको गीत ‘एउटै बाटो’ सार्वजनिक भएको छ।

नेपाली लोक दोहोरीका अत्यन्तै लोकप्रिय गीतहरूमा संगीत संयोजन गरेका के.सी.को यो गीत भने उनको आफ्नै स्वरमा सजिएको छ। लोक संगीतलाई मूल कर्म बनाएका के.सी.को एरेन्जमा फिल्मी सुगन्धको मिठास पनि पाइन्छ, त्यसैले उनी एक फ्युजन संगीत संयोजकका रूपमा पनि परिचित छन्। खाइलाग्दो कद र स्फूर्त शरीर भएका के.सी. बेला बेलामा मोडलको भूमिकामा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन्। 

सबैजसो बाजा गाजा आफैँ बजाउन सक्ने सीप भएकै कारण उनको संगीत संयोजन भएका गीतहरूमा सम्झौता गर्न उनी पटक्कै रुचाउँदैनन् र गुणस्तरीय संगीत प्रस्तुत गर्न प्रतिबद्ध रहन्छन्। त्यसैले पनि होला, आफूले एरेन्ज गरेका गीतहरू रेकर्डिङ भएर फाइनल आएपछि उनी सकेसम्म सम्बन्धित स्टुडियोमै पुगेर सुनछन् र सुझाव दिन्छन्। नसके पनि, आफूले एकपटक सुनेपछि मात्रै बजार पठाउनका लागि प्रोत्साहन गर्छन्।

कृष्ण के.सी.को स्वर तथा संगीत संयोजन, लेकराज गिरीको लय तथा शब्द, श्याम श्वेत रसाइलीको मिक्सिङ मास्टरिङ, गोविन्द अनेक र कमल थापाको रेकर्डिङ रहेको अडियोको उत्पादन प्रिज्म रेकर्डिङ स्टुडियोमा भएको हो। गोविन्द आचार्य र यशु भट्टराईको अभिनय रहेको यो भिडियो कुमार के.सी.को निर्देशनमा बनेको छ। उक्त म्युजिक भिडियो छायांकन रेशम दर्लामीले, श्रृंगार एनिमेश गुरुङले, र सम्पादन अमृत चापागाईंले गरेका छन्।

दशैंको माहोल सुरु भएकै शुभ साइत पारेर के.सी.को नयाँ कोशेली ‘एउटै बाटो’ गोविन्द आचार्य युट्युब च्यानल मार्फत डिजिटल बजारका सबै प्लेटफर्ममा उपलब्ध छ। उक्त गीत नेपालको अत्यन्तै सुन्दर क्षेत्र मुस्ताङको विभिन्न लोकेशनमा छायांकन गरिएको छ। वर्तमान नेपाली जीवनको यथार्थ पाटोलाई यो गीतमा उतारिएको पाइन्छ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय