पोखरा – पोखरामा बसेर सीमित स्रोत र साधनका बीच नेपाली सांगीतिक क्षेत्रमा बलियो उपस्थिति जनाएका कलाकार हुन् तारानाथ आचार्य। मौलिक सिर्जनामार्फत दर्शक–श्रोता माझ परिचित आचार्यले तीजका मौलिक गीतसँगै भजनहरूमा पनि आफ्नो संगीत संयोजनको कौशलता प्रस्तुत गरिसकेका छन्।
उनी स्वयंले संगीत संयोजन गरेको “पीआर वाला ज्वाइँ” बोलको गीत आफूलाई मनैदेखि मन परेको उनले बताएका छन्। एक महिनाअघि सार्वजनिक भएको उक्त गीत तारानाथ आचार्यकै लगानीमा निर्माण गरिएको हो। हजारौं गीतमा संगीत संयोजन गरिसकेका आचार्यले यो गीतले आफ्नै मन छोएको बताएका छन्।
एउटा सामाजिक कथामा आधारित यस गीतले विदेशमा बस्ने धनी ज्वाइँ खोजेर घरजम गरिदिने चेलीहरूको कथालाई प्रस्तुत गरेको छ। गीतमा चर्चित सर्जक शिव अखेलीको शब्द तथा लय रहेको छ भने गायन निशा केसीले गरेकी हुन्।
डिजिटल स्टार पोखराको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतलाई समाचार तयार पार्दासम्म ८ लाखभन्दा बढी दर्शकले हेरेका छन्। सामाजिक सञ्जाल टिकटकमा समेत यस गीतले उल्लेखनीय सफलता प्राप्त गरेको छ। जुना गुरुङको मुख्य भूमिका रहेको गीतको संगीत संयोजन तथा निर्देशन तारानाथ आचार्यले नै गरेका हुन्।