अपर तामाकोशी अक्सनको शेयर बाँडफाँट

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको बाँडफाँट सम्पन्न भएको छ । यो प्रारम्भीक बाँडफाँट मात्र हो । चेक सटही तथा आवेदन रकमको तथ्यांकहरु प्रशोधनको अन्तिम काम सकेर लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न भएको छ । 


प्रारम्भिक बाँडफाँट अनुसार कम्पनीको लिलामी सेयरको कट अफ प्राइस पनि १ रुपैयाँले बढेर १४७ रुपैयाँ हुने भएको छ ।  यसअघि प्रारम्भिक कट अफ प्राइस १४६ रुपैयाँ आएको  थियो । यता, कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम सोमबारबाट फिर्ता दिन सुरु गर्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । अपर तामाकोशीको लिलामी सेयर भर्दा ७ अर्ब रुपैयाँ बढी जम्मा भएको छ । 


यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् । यस हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन् ।
 

प्रतिक्रिया