विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड भएपछि नेपाली सेना परिचालन गरिएको छ। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन हतियारसहित सेनाको टोली परिचालन गरेको हो।
स्थानीय प्रशासनका अनुसार सेनाको टोली घटनास्थल पुगेपछि कप्तानगञ्जको अवस्था क्रमशः नियन्त्रणमा आउन थालेको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षा निकायले अवस्था सामान्य बनाउन आवश्यक प्रयास गरिरहेको बताए।
आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
झडपमा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि जिल्लाका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। तर कर्फ्यु उल्लंघन गर्दै विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।