प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा बागलुङको बुर्तिबाङमा सोमबार वित्तीय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ। ‘अनुसरण गर्नुअघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ’ भन्ने नारासहित निकालिएको र्यालीले बुर्तिबाङ बजार परिक्रमा गरेको थियो।
र्यालीमा सहभागीहरुले वित्तीय साक्षरतासम्बन्धी सन्देश लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए। प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञानबहादुर क्षेत्रीले कार्यक्रममा बोल्दै ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पारे। उनले बालबालिका, वृद्ध तथा युवालाई बचत, लगानी र वित्तीय योजनाको महत्त्व बुझाउन यस्ता कार्यक्रम उपयोगी हुने बताए।
बैंकले युवा पुस्तामा सानैदेखि बचत गर्ने बानीको विकास गराउने, वित्तीय योजनाको महत्त्व बुझाउने र वित्तीय साक्षरताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरेको हो। साथै, आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम गर्दै जाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।