विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आइतबार (असार २९ गते) सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि असार १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको थियो। कुल २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको आईपीओमा अत्यधिक माग परेको थियो।

उक्त आईपीओमा कुल २१ लाख ५० हजार ६७२ जना लगानीकर्ताले आवेदन दिएका थिए। उनीहरूले कुल २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तर, मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो।

प्रभु क्यापिटलका अनुसार प्राप्त आवेदनमध्ये २० लाख ५६ हजार २०७ जना आवेदकको आवेदन स्वीकृत भएको छ भने ९४ हजार ४४६ जनाको आवेदन विभिन्न कारणले रद्द गरिएको हो।

प्रतिक्रिया