टोकियो (जापान) – बागलुङ नगरपालिका–१४ नारायणस्थान निवासी पाण्डव सुबेदीको उपचारका लागि बलेवा सेवा समाज जापानले सञ्चालन गरेको सहयोग अभियानबाट ३ लाख ५७ हजार ७५० येन संकलन भएको छ। वैदेशिक रोजगारीका क्रममा Kyoto मा कार्यरत सुबेदी दैवयोगवश बहिनीको घरमा बस्ने क्रममा राति हिँड्दा छतबाट लडेर गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनी लामो समयदेखि अस्पतालमा उपचाररत छन् भने हाल काम गर्न नसक्ने अवस्थामा पुगेका छन्। पारिवारिक आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च व्यवस्थापनमा कठिनाइ भएपछि समाजले मानवीय आधारमा सहयोग अभियान सुरु गरेको जनाएको छ।
अभियानमा संस्थाका सल्लाहकार दयाराम सुबेदीले विशेष पहल गरेका थिए। संकलित रकम संस्थाका अर्का सल्लाहकार दिपक चपाईमार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको जानकारी समाजले दिएको छ। अभियानमा संस्थाका पदाधिकारी, संरक्षक, सदस्य तथा विभिन्न शुभेच्छुक गरी ८१ जनाबाट आर्थिक सहयोग प्राप्त भएको थियो।
संस्थाका अध्यक्ष सुरेन्द्र ‘प्रेम’ले आपत्–विपत् तथा दुःख–बिमारमा परेका बलेवालीलाई यथाशीघ्र सहयोग गर्ने प्रतिबद्धता दोहोर्याउँदै अभियानमा साथ दिने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेका छन्। समाजले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने जनाएको छ।