बारामा अफिमसहित दुई जना पक्राउ

बारा- बाराको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–३ का ५० वर्षीय सञ्चलाल वाईवा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ का ४८ वर्षीय हिरालाल वाईवा रहेका छन्।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित प्रहरी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र.३–०३–००२ प ८११ नम्बरको मोटरसाइकल जाँच गर्दा सिटमुनि लुकाइराखिएको २ किलो ५०० ग्राम अफिम जस्तो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया