काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलसहित हवाई इन्धनको मूल्य समायोजन गरेको हो। नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँले सस्तो भएको निगमले जनाएको छ।
त्यसैगरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको गिरावटका आधारमा इन्धनको मूल्य समायोजन गरिएको हो।
एलपी ग्यासको मूल्य भने बढेर आए पनि उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले हाल कायम रहेको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले स्पष्ट पारेको छ। मूल्य समायोजनसम्बन्धी जानकारी निगमले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो।